सहिद स्मृति गोल्डकपः आयोजक मकवानपुर –११ लाई हराउँदै आर्मी बन्यो च्याम्पियन
त्रिभुवन आर्मी क्लब हेटौडामा भएको स्थानीय तह सहिद स्मृति अन्तरािष्ट्रय गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक रिगल हेटौडा रिसोर्ट मकवानपुर –११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बन्न सफल भएको हो ।
आर्मीको जितका लागि क्याप्टेन टेक बहादुर बुढाथोकीको एक मात्र गोल नै पर्याप्त बन्यो । उनले खेलको पहिलो हाफमा एक गोल गरी आर्मीलाई अग्रता दिलाएका थिए । निकै प्रतिष्पर्धात्मक भएको खेलमा मकवानपुर–११ ले राम्रो प्रयास गरेपनि गोल गर्न नसक्दा उपाधि चुम्नबाट चुक्यो ।
च्याम्पियन बनेसंगै आर्मीले ट्रफि, नगद १० लाख रुपैया सहित मेडल प्राप्त गरेको छ भने उपविजेता मकवानपुर ११ ले ट्रफी, नगद ५ लाख रुपैया प्राप्त गरेको छ । आजको खेलको म्यान अफ द म्याच आर्मीका गोलकर्ता बुढाथोकी भए । उनले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार आयोजक मकवानपुर ११ का अमिर श्रेष्ठले जिते । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले सौजन्य गरेको बुलेट बाइक प्राप्त गरे ।
उत्कृष्ट गोल रक्षकको उपाधी आर्मीका बिश्वास चौधरी, उत्कृष्ट मिड फिल्डर आर्मीकै दिपक गुरुङ, उत्कृष्ट फरवार्ड मकवानपुर–११ का रञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित भए ।
विद्यागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । विजयी टिम तथा खेलाडीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष हरिबहादुर महत लागाएतले पुरस्कार वितरण गर्नु भएको थियो ।
पुरस्कार वितरण कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको हो ।