एसीयाकै पहिलो सुरुङका निर्माणकर्ता डिल्लिजंग थापाको सालिक अनावरण

ऐतिहासिक सुरुङलाई व्यव्यवस्थित गरी, अवलोकनका लागि खुला गर्नु पर्ने माग
छहारी संवाददाता
फाल्गुन २५, २०७७

हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाइमा रहेको दक्षिण एसीयाकै पहिलो सुरुङका निर्माणकर्ता डिल्लीजंग थापाको शालिक मंगलबार अनावरण गरिएको छ ।

हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आज एक कार्यक्रममा बीच शालिक अनावरण गर्नु भएको हो । उपमहानगरपालिकाको सहयोगमा स्थापना भएको नेपालका प्रथम ग्राजुएट सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल थापाको अर्धकदको सालिक मेयर हरि बहादुर महतले अनावरण गर्नु भएको हो ।

चुरीयामाइ सुरुङको संरक्षण र यस मन्दिर वरपर पानी खुवाउने लगायतका हरेक क्षेत्रमा उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । शालिक अनावरण गर्दै मेयर महतले दक्षिण एसीयामै पहिलो पटक सुरुङ निर्माण गर्ने थापाको इतिहासलाई जोगाउन शालिक स्थापना गरिएको बताउनुभयो ।

हेटौंडाको टिसीएनको टोली हेगन पार्कका निर्माता र सुरुङ निर्माणकर्ता थापाले इतिहासमा गरेको कामलाई स्थानीय सरकारले संरक्षण गरेको मेयर महतको भनाई छ । अनावरण कार्यक्रममा संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बोम्जनले चुरीयामाइ सुरुङको संरक्षणका लागि आफुहरु तयार रहेको र बिगत देखिनै काम गर्दै आएको बताउनुभयो ।

चिफ इन्जिनियर थापाले आफ्नो कार्यकालमा देशका १२ वटा महत्त्वपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराउनुभएको थियो ।

हेटौंडा—काठमाडौं रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाहरूका दरबार, नेपालको प्रथम रेल वे जनकपुर–जयनगरको पनि थापाले नै डिजाइन गर्नु भएको थियो । चुरियामाई सुरुङको निर्माण १०४ वर्षअघि अर्थात् सन् १९१७ मा गरिएको थियो ।

थापाले नै अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गर्नु भएको थियो । बक्स कटिङ गर्न उपकरण नभएकाले त्यति बेला मानिसद्वारा नै सुरुङ खनिएको थियो । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाउनु भएको हो ।

चुरियामाई सुरुङ मार्गको इतिहास
चुरियामाई सुरुङको निर्माण १०४ वर्षअघि अर्थात् सन् १९१७ मा गरिएको थियो । मकवानपुरको चुरियामाईमा रहेको यो सुरुङमार्गको भग्नावषेश अझैसम्म देख्न सकिन्छ ।

राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाएर बाटो बनाउनुको साटो सीधा सुरुङमार्ग खनियो र गाडी चलाइयो । सुरुङमार्ग खन्ने क्रममा चन्द्रशमसेरको सपनामा देवीले मेरो मार्गमा सुरुङ नखन्न भनेपछि क्षमा स्वरूप मन्दिर स्थापना गरेर सुरूङ खनिएको भन्ने किवंदन्ती छ ।

हेटौंडा बजारबाट करिब ९ किलोमिटर दक्षिणमा रहेको सुरुङ मार्गसंगै चुरियामाई मन्दिर छ । त्यहाँको सडक अहिले पनि केही उकालो छ । त्यस सडकमा पीच नगरी कंक्रिटमात्र प्रयोग गरी बनाइएको छ । समीपमा सय वर्षअघिको ऐतिहासिक सुरुङ मार्गको भग्नावशेष देख्न सकिन्छ । तत्कालीन समयमा त्यस्तो उकालो पहाडमा बाटो बनाउन गाह्रो भएकाले विकल्पमा सुरुङमार्ग खनाएको स्थानीय जानकार बिके महर्जनको भनाई छ ।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा पहिले विकास गरिएको यो सडकखण्डमा तत्कालीन राणा सरकारले सुरुङ मार्ग खनाएको थियो । र, त्यही सुरुङ मार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म समान पु¥याइन्थ्यो ।

काठमाडौंमा चल्ने राणाका गाडी पनि भीमफेदीसम्म यही सुरुङ मार्ग छिचोल्दै पुग्थे । प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसै क्रममा यो सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो । सडक छेउमा देखिएका सुरुङका मुखहरु थुनिए । तर, मन्दिर नजिकैको सुरुङमार्गको मुख्य भाग भने अझै सग्लो अवस्थामै छ । सडक पारिको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।

स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा पनि यो सुरुङ मार्गबारे चर्चा गर्नु भएको छ । उहाँले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ बताउनुभएको छ । उहाँले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गर्नु भएको छ ।

जीर्ण अवस्थामा रहेको यो सुरुङ मार्ग हाल प्रयोगमा छैन । भूकम्पपछि यो सुरुङमार्ग थप जीर्ण बन्न पुगेको छ । अहिले हेटौंडा उपमहागरले यसको संरक्षणका लागि पहल थालेको हो ।

व्यव्यवस्थिथत गरी फेरि अवलोकनका लागि खुला गर्नु पर्ने माग
सुरुङ मार्गमा अहिले सर्वसाधारणलाई अवलोकन गर्न निषेध छ । भूकम्पअघिसम्म यसभित्र पसेर हेर्न पाइन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले अहिले यसलाई बन्द गरेर राखिएको छ । मन्दिरका पुजारीका अनुुसार चन्द्रशम्शेरको पालामा बनेको यो सुरुङमार्गको डिजाइन गर्ने इन्जिनियर थापाका पनाति र पनातिनाहरु यसको अवलोकनमा बेलाबखत पुग्छन् ।

आजको कार्यक्रममा पनि थापाकी नातीनी चन्दा थापा राणाले यो मुर्ति रोखेकोमा खुसी व्यक्त गर्नुभयो ।

यसलाई मर्मत गरेर व्यवस्थिथत गर्दै फेरि अवलोकनका लागि खुला गर्ने योजना पटक–पटक बनेको छ । तर, संरक्षणका लागि प्रभावकारी योजना नबन्दा समस्या छ । पूर्खाको नासो भएकाले यसलाई राष्ट्रिय सम्पदा घोषणा गर्नुपर्ने माग स्थानीयबासीको छ । सुरुङभित्र सरसफाई गरेर बत्तीसहित तत्कालीन अवस्थामा प्रयोग भएका सामान र चित्र र फोटोहरु सजाएर यसलाई खुला गर्नुपर्ने उनीहरु बताउँछन् ।

चुरे पर्वतको काखमा रहेको यो सुरुङमार्ग नेपालीहरुको श्रम, सीप, मिहिनेत र कला कौशलको प्रतिविम्ब भएको बताउँछन् चुरियामाईका स्थानीय श्यामकुमार बम्जन । गुफामा परिणत भएपछि यो सुरुङमार्ग खासै चर्चामा पनि आउन सकेको छैन । तत्कालीन समयमा यो सुरुङमार्गको पस्ने र निस्कने विन्दुमा पाले घरहरु थिए ।

तत्कालीन पाले वीरबहादुर ब्लोनका नाति रामका अनुसार पालेघरहरुले गाडी अएपछि झण्डा हल्लाएर जनाउ दिने गरेको हजुरबावाट सुनेको बताउँछन् । यो सुरुङमार्ग बनेको करिब सय वर्षपछि बल्ल नेपालले सडकमा सुरुङमार्गको आवश्यकता महसुस गरेको छ । अहिले दोलखाको लामाबगर जाने सडकको काभ्रे भीरमा तामाकोशी जलविद्युत् आयोजनाले बनाएको साढे ३ सय मिटरको सुरुङ छ ।

भीरमा पहिरो गएपछि आयोजनाको मालसामान आपूर्तिमा समस्या परेपछि यो सुरुङ बनाइएको थियो । त्यसबाहेक नेपालमा कलंकीमा चीनले जाम नहोस् भनेर बनाइदिएको अन्डर पास पनि अर्को सुरुङ मार्गको प्रयोग भइरहेको नमूना हो । केही हाईड्रोपावर आयोजना क्षेत्रमा छोटा सुरुङ मार्गहरु पनि छन् । नेपालमा लामो सुरुङमार्ग बनेका छैनन् । साभारः जनपत्र डटकमबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*