मकवानपुरमा महिला पत्रकारको अवस्थाबारे अन्तरक्रिया सम्पन्न
११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आईतबार हेटौंडामा पत्रकार महिलाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा क्रियाशील महिला पत्रकारहरुको अवस्थाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रममा शुभकामना दिँदै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले स्थानीय सरकार समक्ष आफ्नो क्षेत्रको समस्या स्पष्ट रुपमा आएमा सहयोग गरिने बताउनुभयो । पुरुषहरु पत्रकारितामै कपाल फुलाइरहेको पाइएपनि महिलाहरु भने यस क्षेत्रमा लामो समयसम्म टिक्न नसकेको देखिएको भन्दै उहाँले महिलाहरुले पनि यस क्षेत्रलाई पेशाको रुपमा अपनाउन सक्ने वातावरण बनाउनु जरुरी रहेको बताउनुभयो ।
महिला पत्रकारहरुले व्यवसायिक रुपमा धेरै समस्या झेल्नु परेको स्वीकार्दै उपमेयर लामाले महिलाहरुलाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा क्रियाशील पत्रकार महिला ९डब्लुडब्लुजे० मकवानपुरकी संस्थापक अध्यक्ष रञ्जिता डंगोलले जिल्लामा क्रियाशील महिला पत्रकारको अवस्थाबारे तयार पारेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि धारणा राख्दै स्वतन्त्र पत्रकार संघ मकवानपुर अध्यक्ष सुरेश श्रेष्ठ, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारी लगायतले पत्रकारितामा महिलाहरुलाई स्थापित गराउन मिडिया हाउससँग महासंघले छलफल चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै पत्रकारहरु नानीमाया सापकोटा, सनु रिजाल, रुपा गुरुङ, भावना रिजाल लगायतले आफ्नो अनुभव सुनाउँदै पत्रकारितामा महिलाले भोग्नुपरेका चुनौतीबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, महासंघका जिल्ला उपाध्यक्ष हरि हुमागाईं, महासंघका पूर्व अध्यक्ष राममणि दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, सञ्चारिका समुह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापा, प्रेस संगठन मकवानपुरका संयोजक धर्मेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सचिव अशोक सुजन श्रेष्ठ, दलित पत्रकार संघ मकवानपुरकी सचिव शान्ति सुनार, राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरका अध्यक्ष कपिल खड्का लगायतको आतिथ्यता रहेको थियो ।
नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा कार्यक्रम सञ्चालन भएको थियो । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे), मकवानपुरकी उपाध्यक्ष शुभलक्ष्मी विश्वकर्माको सभाध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।