दुई जनालाई सामुदायिक सम्मान प्रदान
रेडियो मकवानपुरले ११ औं वार्षिकोत्सवको अवसरमा दुई जनालाई सामुदायिक सम्मान प्रदान गरेको छ ।
समाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दुई जनालाई शनिबार सामुदायिक सम्मान प्रदान गरेको हो । रेडियो मकवानपुरको बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी लि.को स्थापना दिवसको अवसरमा मामाघर नेपालका संरक्षक अर्पण पराजुली र पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतियोगिता र कविता प्रतियोगिताको विजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ । फुटसल प्रतियोगिताको विजेता टिम टेलिभिजनले नगद १५ हजार रुपैयाँ र उपविजेता रेडियो सन्देशले नगद ७ हजार रुपैयाँ पुरस्कार पाएको छ ।
कविता प्रतियोगितामा प्रथम भएका जिएस निकेतनका सपर्मण न्यौपाने, दोश्रो भएका त्रिभुवन नमुना माविका सुजन ढुंगाना, तेश्रो भएका भानु माविकी जेनीसा चौंलागाई र सान्त्वना भएका शारदा माविकी कविना सञ्जेल र बालज्योति माविका रियाज कार्कीलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १÷१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
यसैबीच, रेडियो मकवानपुरले उत्कृष्ट कर्मचारीको रुपमा सम्झना रिजाललाई सम्मानीत गरेको छ । रिजाललाई नगद ७ हजार रुपैयाँसहित उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरेको हो । यस्तै, रेडियो मकवानपुरका पूर्व स्टेशन म्यानेजरहरु कृष्ण अर्याल, रिपेश दाहाल, आशिष दुलाल र राममणि दाहाललाई सम्मानीत गरिएको छ ।