बकैया ७ हात्तीखोलामा नमुना च्याउ बिउ उत्पादन केन्द्रको उद्घाटन

किसानलाई करीब २५ लाख रुपैया बराबरको कृषि मेसिनरी सामान वितरण
छहारी संवाददाता
फाल्गुन १३, २०७७

मकवानपुरको बकैया गाउँपालिका ७ हात्तीखोलामा बिहिबार नमुना च्याउ बिउ उत्पादन केन्द्रको उद्घाटन गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले नमुना च्याउ बिउ उत्पादन केन्द्रको उद्घाटन गर्नु भएको हो ।

महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरको आयोजना तथा युएनडिपी र बकैया गाउँपालिकाको आर्थिक सहयोगमा किसानहरुका लागि आवश्यक कृषि सामग्री वितरण समेत गरिएको छ । किसानहरुलाई खेतीमा सहयोग होस् भन्ने उदेश्यले करीब २५ लाख बराबरको कृषि मेसिनरी सामान वितरण गरिएको महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरकी संयोजक इन्दिरा न्यौपानेले जानकारी दिनुभयो ।

एक वर्षे अनुदान कार्यक्रम अन्तरगत युएनडिपीको १ करोड रुपैया र गाउँपालिकाको ७० लाख सहयोगमा गाउँपालिकाका ७ वटा वडामा विभिन्न किसिमका कृषि सामग्री हस्तान्तरणको काम भइरहेको छ ।

जसअन्तरगत आज मात्रै वडा नम्बर ४, ७ र ९ लाई २५ लाख रुपैया बराबरको च्याउको बिउ उत्पादन गर्ने मेसिन, च्याउको लागि चाहिने पराल पकाउने मेसिन, आलु खन्ने, तरकारी गोड्ने, धान चुट्ने मेसिन र कुटान पिसान मेसिन हस्तान्तरण गरिएको हो । कृषि मन्त्री लामाले समृद्धी टोल विकास संस्थाका अध्यक्ष पर्शुराम गौतमलाइ मेसिन हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कार्यकारी अधिकृत, लक्ष्मण पुडासैनी, ९ नम्बर वडा अध्यक्ष रामकाजी लामिछाने, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, युएनडिपीका संयोजक धन बहादुर चन्द, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, समृद्धी टोल विकास संस्थाका अध्यक्ष पर्शुराम गौतम लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा महिला सशक्तिकरण तथा गरिबी निवारण समुह मकवानपुरका संरक्षक माइकल रामचन्द्र अर्यालको आतिथ्यता तथा समुहकी संयोजक न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*