प्रचण्ड-नेपालको प्रस्तावका विषयमा कांग्रेसले बिहिबार छलफल गर्ने
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थपनको फैसला सुनाएसंगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गर्नु भएको छ ।
देउवाको निवासमा भएको भेटमा उहाँहरुबिच आधा घन्टा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । भेटमा प्रतिनिधिसभा पुनर्स्थपनाको खुशीयाली साटासाट हुनुका साथै प्रचण्ड र नेपालले मिलेर जाने प्रस्ताव गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
प्रचण्ड र नेपालबाट आएको प्रस्तावको विषयमा छलफल गर्न भोली कांग्रेस पदाधिकारी बैठक बस्ने उहाँले बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक घोषणा गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन मंगलबार आदेश दिएको छ।