दृष्टिविहिन विद्यार्थीहरुको समस्या समाधानका लागि पहल गर्छुः जिसस मकवानपुरका प्रमुख खुलाल
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले दृष्टिविहिन विद्यार्थीहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मंगलबार हेटौंडा–५ स्थित बाल ज्योती माविमा दष्टिविहिन विद्यार्थीहरुका लागि संचालित विद्यालयको अनुगमनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रमुख खुलालले विद्यालयमा अध्यनरत विद्यार्थीलाई सहजता प्रदान गर्न र उनिहरुको शिक्षाको अधिकार स्थापीत गर्न पहल गर्ने बताउनुभएको हो । अनुगमनका क्रममा उहाँले विद्यालयका प्रधानाध्यापक, शिक्षक एवम् विद्यार्थीहरुसंग अन्तरकृया समेत गर्नुभएको थियो । विद्यालय संचालनको अवस्था, आइपरेका समस्या तथा समाधानका लागि भएका प्रयासलगायत विषयमा अन्तरकृया गरिएको थियो ।
सो क्रममा विद्यालयका प्रधानाध्याक भरत अर्याल र शिक्षक प्रविन ग्वाचले समग्र अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक अर्यालले २०६४ सालबाट संचालित विद्यालयबाट हालसम्म २ जनाले एसईई उतिर्ण गरिसकेको र हाल जिल्लाका विभिन्न स्थानीय तहका १७ जना दृष्टिविहिन बालबालिकाले अध्यन गरिरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयलाई मुख्य समस्या भवनको रहेको बताउनुभयो ।
नेपाल सरकारबाट वर्षमा १० महिना मासिक ४ हजारका दरले सहयोग प्राप्त भए पनि प्रयाप्त नभएको साथै शिक्षक अभाव, विद्यार्थीलाई शैक्षिक सामग्री, खेलकुद सामग्रीको अभाव, संगित सिकाउने सामाग्रीको अभाव रहेको बताउनुभयो । नेपाल सरकारबाट प्राप्त सहयोग र विभिन्न संघसंस्थाको सहयोगमा विद्यालय संचालन भएको भएपनि सबै भन्दा बढी वर्षा याममा भवनमा पानी प्रवेश गर्ने हुँदा त्यो नै सबै भन्दा ठुलो समसयाका रुपमा रहेको जानकारी दिनुभयो ।
सो क्रममा प्रमुख खुलालले विद्यालयको समस्या समाधानका लागि सक्दो सहयोग र सजहिकरण गर्ने बताउनुभयो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो । टोलीले आजै हेटौंडा–६ स्थित सारदा प्राथमिक विद्यालयको समेत अनुगमन गरेको छ ।