तानाशाही परास्त भई लोकतन्त्रको विजय भयोः विरोध खतिवडा

हार पछि माफी माग्न आउने तानाशाहहरुलाई फेरी कुनै मौका दिइने छैनः खतिवडा
छहारी संवाददाता
फाल्गुन ११, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचन्ड–नेपाल समूह मकवानपुरका नेता तथा सांसद विरोध खतिवडाले सर्वोच्च अदालतको प्रतिनिधीसभा पूर्नस्थापनाको निर्णयसंगै तानाशाही परास्त भई लोकतन्त्रको विजय भएको बताउनु भएको छ ।

प्रतिनिधिसभा पुर्नस्थापनाको निर्णयपछि हेटौडाको बुद्धचोकमा गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र बाँचे हरेक नागरिक स्वतन्त्र र हरेक पार्टी विजयी हुने अवसर मिल्ने बताउनुभयो । यो हार पछि तानाशाहहरु खुट्टा समातेर माफी माग्न आउन सक्ने तर्फ सचेत गराउँदै उहाँले भन्नुभयो-“त्यस्ता चिन्तन बोकेका मान्छेलाई कदापी फेरी कुनै मौका दिइने छैन ।”

नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीले अब धोका खाने काम नगर्ने भन्दै उहाँले यदी केन्द्रीय नेतृत्वले ओलीको एक भोटका लागि क्षमा दिने काम गरे उनिहरुलाई समेत दण्डित गरिने भन्दै खबरदारी गर्नुभयो । नेकपा सदैब न्याय, सत्य, इमान्दारीता, विधी र संविधानको पक्षमा लाग्ने प्रगतिशिल चिन्तन राख्नेहरुको मतदाताबाट अघि बढ्ने समेत उहाँको भनाई छ । ओलीमा नैतिकता भए तत्काल राजिनामा दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो-“यदि उनमा नैतिकता छ भने तपाईहरु घर फर्किँदा न्युजमा ओलीले राजिनामा दिए भन्ने खबर आउनु पर्छ ।”

उहाँले राष्टपति विद्यादेवी भण्डारीले संविधान र लोकतन्त्रको संरक्षण गर्नुको साटो ओलीको संरक्षण गरेको आरोप समेत लगाउनुभयो । उहाँले नेपाली जनतालाई देशको माया गर्ने राष्टपति र प्रधानमन्त्री चाहिएको जिकिर गर्नुभयो । कार्यक्रममा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, सचिव प्रेम बहादुर पुलामी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*