प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले सही फैसला गर्ने प्रचण्डको विश्वास

छहारी संवाददाता
फाल्गुन ११, २०७७

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले सही फैसला गर्नेमा विश्वस्त रहेको बताउनु भएको छ ।

काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि प्रतिगमनविरुद्ध फेरि आन्दोलनमा उत्रिनुपरेको तर राज्य शक्तिको दुरुपयोग गरेर प्राप्त उपलब्धिलाई दबाउन खोजिएको आरोप लगाउनुभयो ।

पुस ५ गतेदेखि आफुहरुले नयाँ युद्ध लडिराखेको भन्दै प्रचण्डले अहिलेको शान्तिपूर्ण आन्दोलनबाट जसरी पनि जित्नुपर्ने बताउनुभयो । उहाँले आफूहरू एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भए पनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको बताउनुभयो ।

प्रचण्डले २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गर्दा सबैभन्दा बढी पृथ्वीनारायण शाहले गरेका युद्धको रणनीति अध्ययन गरेको समेत बताउनुभयो । सशस्त्र द्वन्द्व नै नेपालका लागि सबैभन्दा ठूलो परिघटना भएको दाबी गर्दै उहाँले देशलाई अगाडि बढाउन सशस्त्र द्वन्द्वले ठूलो उपलब्धि हासिल गरेको तर्क गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*