मदन भण्डारीको सिद्धान्त अनुसार राजनीति अगाडि बढेको छः मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्त अनुसार राजनीति अगाडि बढेको बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको सुशासन र समृद्धिका लागि संचार बिषयक अन्तरक्रिया उहाँले मदन भण्डारी फाउन्डेसन स्वायत्त संस्था भएको बताउनुभयो ।
फाउन्डेसनका केन्द्रिय सदस्य समेत रहनु भएका मुख्यमन्त्री पौडेलले नेपालको राजनीति क्षेत्रमा जननेता भण्डारीको महत्त्वपूर्ण मार्गनिर्देशन रहेको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँनु पर्ने आवश्यकता रहेको औंल्याउनुभयो । मुख्यमन्त्री पौडेलले फाउन्डेसनलाई सफल नेतृत्व प्रदान गरि जनता माझ लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । फाउन्डेसनको जगमा उभिएर धेरै सफल भएको भएपनि अहिले स्वार्थमा लागेको उहाँको भनाई छ ।
फाउन्डेसनका केन्द्रिय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका नेकपा केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एबम फाउन्डेसनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवंम् सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा रामशरण प्याकुरेल र फाउन्डेसनका बागमती प्रदेश अध्यक्ष दीपक निरौलाले सहजीकरण गर्नुभएको थियो । यसैगरी फाउन्डेसनको आयोजनामा भोलिदेखी ५ दिने पत्रकारीता तालिम सुरु हुनेभएको छ । तालिममा चितवन र मकवानपुरका गरि ३५ जना सहभागी हुने फाउन्डेसनका प्रदेश अध्यक्ष निरौलाले जानकारी दिनुभयो । यसअघि प्रदेशका अन्य ११ वटा जिल्लामा पत्रकारीता तालिम सम्पन्न भैसकेको छ ।