यसअघि भएका असहयोग बिर्सिएर सबैसंग मिलेर जनताको काम गर्छुः मनिला विष्ट
मनहरी गाउँपालिका उपाध्यक्ष मलिना विष्टले सबैको सहयोगले आफु पुर्नवहाली भएको भन्दै अब अझै दृढ भएर जनताको काममा लाग्ने बताउनुभयो ।
आज हेटौंडामा पत्रकार सम्मेलन गरी उहाँले आइतबारबाटै आफ्नो जिम्मेवारीमा फर्किएको जानकारी गराउँदै अब जस्तो सकै परिस्थिती आएपनि सामना गर्ने बताउनुभयो । उच्च अदालत पाटन हेटौँडा इजलाशले विष्टलाई पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्कन फागुन ५ गते परमादेश जारी गरेपछी उहाँलाई काम गर्ने बाटो खुलेको हो ।
आफुलाई पदबाट हटाउन अनेक किसिमको षडयन्त्र र प्रयास गरिएको भएपनि जनताको माया र सबैको साथ सहयोगले न्याय प्राप्त गर्न सफल भएको उहाँको भनाई छ । उपाध्यक्ष विष्टले कार्यालयमा जस्तोसुकै असहयोग भएको भएपनि सबै बिर्सिएको र सबैसंग मिलेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो-“यसअघि भएका असहयोग बिर्सिएर सबैसंग मिलेर जनताको काम गर्छु ।”
पत्रकार सम्मेलनमा नेकपा प्रचण्ड-नेपाल समूह मकवानपुरकी अध्यक्ष तथा प्रदेशसभा सदस्य मुनु सिग्देलले गुटगत राजनीति कै कारण उपाध्यक्षको राजीनामा स्वीकृति भएको बताउनुभयो । पार्टीगत गुटका कारण अध्यक्षबाटै जनताको मतमाथी अपमान भएको भन्दै उहाँले अन्ततः अदालतले उपाध्यक्षको पुर्नवहालीको निर्णय गरेर जनताको मतको सम्मान गरेको बताउनभयो ।
न्यायाधीशहरु मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालको संयुक्त इजलाशले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुनः कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेको हो । विष्टले आफुले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा रिट दायर गर्नुभएको थियो ।
विष्टको पक्षमा अधिवक्ताहरु शुसिल कुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गरेका थिए । विष्टले गएको मंसिर २९ गते बुझाएको राजीनामा पुस १७ गते गाउँपालिकाले स्वीकृत गरेको थियो ।