दलहरुबीच सहमति, सहकार्यको वातावरण नबन्दा प्रदेश सभा स्थगित गर्नु परेकोः सभामुख श्रेष्ठ
बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविस्वास प्रस्तावका कारण प्रदेश सभाको सातौँ अधिवेशन बैठक स्थगित नगरेको बताउनु भएको छ ।
आज प्रदेशसभा सचिवालयमा पत्रकारहरुसंग कुरा गर्दै सभामुख श्रेष्ठले अविस्वासको प्रस्ताव दर्ता सम्बन्धी कार्यविधि मस्यौदा समितिले प्रतिवेदन नबुझाएको कारण मतदान प्रक्रियामा जान नसक्ने भएकोले आफुले प्रदेश सभाको बैठक बारम्बार स्थगित गर्नुपरेको बताउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आफ्नो आधिकारीक धारणा नआएको र समय माग गरेका कारण संसद स्थगित गर्नुपरेको स्पष्ट पार्नुभयो ।
आफु कुनै पनि पार्टीको कार्यकर्ता नभएको तथा स्वतन्त्र भएको भन्दै दलहरुबीच सहमति, सहकार्य र एकताको वातावरण बन्न नसक्दा यो परिस्थिति आएको सभामुख श्रेष्ठको भनाई छ । उहाँले प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण प्रदेशवासीमा शुभकामना समेत दिनुएको छ ।