आफैँले आफ्नो पौरखको जगमा देश बनाउनु पर्छ : मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
फाल्गुन ७, २०७७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हामी आफैँले आफ्नो पौरखको जगमा देश बनाउनुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा आज प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले ‘आफ्नै पौरखको जगमा समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवस्था बदलिने तर जनताको अवस्था नबदलिने विगतको नजिरलाई बदल्दा मात्र उज्यालो भविष्यको निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

पौडेलले नेपाल स्रोत र साधनमा समृद्ध रहेको तथा दुई ठूला राष्ट्रबीच रहेको देशको भूराजनीतिक संवेदनशीलतासँगै अवसर पनि उत्तिकै रहेको बताउनुभयो । सम्भावना हुँदाहुँदै पनि लामो समयदेखि देशका हजारौँ युवा विदेश पलायन हुने क्रम नरोकिएको प्रती मुख्यमन्त्रीले दुःख व्यक्त गर्नुभयो ।

“सूचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनियाँ तिव्रतर गतिमा अघि बढेको छ । मानिसका जीवन दिन प्रतिदिन सरल र सहज बन्दै गइरहेका छन् तर नेपाली जनताको जीवन उस्तै कष्टप्रद हुनु आजको शताब्दी सुहाउँदो कुरा होइन”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले जनताले सुम्पिएको महत्वपूर्ण अभिभारा अनुसार सरकारले थुप्रै काम गरेको दाबी गर्नुभयो । उहाँले विश्वमञ्चमा सार्वभौम देशको हैसियतमा बलियोसँग उपस्थित हुने अवस्था निर्माण भएको बताउनुभयो ।

प्रजातन्त्रको सुदृढिकरणको लागि दलहरु एकैढिक्का भएर अघि बढ्नुपर्ने चुनौती थपिएको मुख्यमन्त्रीले बताउनुभयो । प्रजातन्त्र वा लोकतन्त्र निर्विकल्प रहेको बताउँदै, मुख्यमन्त्री पौडेलले दलहरु एकैढिक्का भएर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*