मयुरधाप औद्योगिक क्षेत्र वातावरणीय प्रभाव सम्बन्धि सार्वजनिक सुनुवाई

स्वास्थ्य रोजगारीमा स्थानीयलाई प्राथमिकतामा पार्न आग्रह
छहारी संवाददाता
फाल्गुन ६, २०७७

नेपाल सरकारको स्वामित्व रहेको मयुरधाप औद्योगिक क्षेत्र परियोजनाले क्षेत्रभित्र उद्योग सञ्चालनपछि आउने प्रभावका बारेमा स्थानीय नागरिकहरुसँग आज सार्वजनिक सुनुवाई गरेको छ । हेटौंडा वडा नम्बर १३ र १४ मा १ सय ३४ दशमलब ८६ हेक्टर क्षेत्रफलमा रहेको औद्योगिक परिसरमा करीब ५ दर्जन बढी उद्योग प्लान्ट रहने जनाईएको छ ।


सो औद्योगिक क्षेत्रबाट उत्पन्न हुने वातावरणीय प्रभावलाई दृष्टिगत गरी प्रभावित क्षेत्रका नागरिकहरुको धारणा बुझ्न र सोही अनुसार गर्न छलफल आयोजना गरिएको हो ।
संविधान सभा सदस्य अनन्तप्रसाद पौडेलको प्रमुख उपस्थितिमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिकहरुले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा स्थानीयलाई नै प्राथमिकता हुनु पर्ने, वातावरणमैत्री उद्योग सञ्चालनका लागि आवश्यक प्रवन्ध मिलाउनु पर्ने लगायतका मागहरु राखेका थिए । सार्वजनिक सुनुवाईमा आएका स्थानीयहरुको माग र धारणालाई सम्बोधन गर्न आवश्यक पहल गरिने बताईएको छ ।


सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार स्याङ्तान, १४ का अध्यक्ष दीपक खड्का, परियोजनाका निर्देशक सञ्जयलाल मानन्धर, पर्सा राट्रिय निकुञ्जका मनोजकुमार साह, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि करीब ७ अरब २ करोड ३४ लाख रुपैया लाग्ने अनुमान गरिएको छ भने औद्योगिक क्षेत्र सञ्चालनपछि दक्ष, अर्धदक्ष र अदक्ष गरी करीब १० हजार जनाले रोजगारी पाउने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*