पहिला पहिला राजा महाराजाले जे गर्थे,प्रधानमन्त्रीले त्यही गर्नुभयो: प्रचण्ड

छहारी संवाददाता
फाल्गुन ३, २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गर्नुभएको छ ।

“चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।” लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताउनुभयो ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्‍याली गर्दै हिँडेको प्रती टिप्पणी गर्नुभएको छ ।

उहाँले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताउनुभयो। ‘उहाँले पञ्चर्‍याली जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिला पहिला राजा महाराजाले जे गर्थे त्यही गर्नुभएको छ । त्यसको केही अर्थ छैन, कुनै महत्व छैन,’ प्रचण्डले भन्नुभयो ।संसद विघटनलाई प्रतिगमन भन्दै उनले प्रधानमन्त्रीले प्रतिगमनको बाटो पक्डिएदेखि नै हारिसकेको टिप्पणी गर्नुभयो ।
विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उहाँले सम्बोधन गर्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री दाहाल दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्न प्रचण्ड चितवन आउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*