बकैया नेपालकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा(तस्विरहरु)

छहारी संवाददाता
माघ २९, २०७७

मकवानपुरको बकैया बालमैत्री स्थानिय शासन अवलम्बन गर्दै नेपालकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ । आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बाल बिवाह, निकृष्ट बालश्रम, बाल हिंसा, महिला हिंसा मुक्त तथा बालमैत्री गाउँपालिका दिगोपनाका लागि सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गर्दै बालमैत्री गाउँपालिका घोषणा गर्नु भएको हो ।

मुख्यमन्त्री पौडेलले घोषणामा मात्र सिमित नराखी बालमैत्री सूचकको निरन्तर निगरानी राख्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।बालमैत्री बनेकोमा बकैया गाउँपालिकाबासीलाई बधाई दिँदै उहाँले गाउँपालिकाका हरेक कुरा बालमैत्री हुनु पर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री पौडेलले बागमती प्रदेशलाई नै बालमैत्री बनाउने तयारीमा आफुहरु लागेको समेतबताउनुभयो ।

यस्तै बागमती प्रदेश प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले बालमैत्री घोषणा भएकोमा बधाई दिँदै बालमैत्री दोस्रो गाउँपालिका घोषणा हुनु मात्रै सफलता नमान्न र निरन्तर अनुगमन गरी दिगोपनामा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमनका क्रममा सबै सुचकहरु पूरा गरेको पाइपनि यो पूर्ण भने नभएको भन्दै आगामी दिनमा दिगो र प्रभावकारी बनाइराख्न निरन्तर प्रयास गर्नु पर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको घोषणा सभामा प्रदेशसभा सदस्यहरु जुनेली श्रेष्ठ, सन्तबहादुर चेपाङ, जिसस मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, बागमती गाउँपालिकाकी उपाध्यक्ष धन माया स्याङतान लगायतको आतिथ्यता रहेको थियो।

यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बनिसकेको छ ।

गाउँपालिकाले २०७४ असार ३० गते गाउँसभाबाट बालमैत्री स्थानीय शासन अवलम्वन तथा २०७४ पुस १७ गते बालमैत्री स्थानीय शासन बनाउने प्रतिवद्धता गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि गाउँपालिकाले बजेट तथा कार्यक्रमसमेत पारित गर्यो । यस कार्यक्रमको लागि गाउँपालिकाले गत आर्थिक वर्ष ०७६/०७७ मा ५० लाख रुपैयाँ र चालु आर्थिक वर्ष ०७७/०७८ मा ८० लाख रुपैयाँ विनियोजनसमेत गरेको छ ।

गाउँपालिकाले १२ वटै वडामा बालमैत्री सहजकर्ता राखेर वडा तहमा बालमैत्री स्थानिय शासनसम्बन्धि काम सुरु गर्नुका साथै गाउँपालिकास्तरीय संजाल गठन गरेर बाल विवाह, बाल श्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानवबेचबिखन न्यूनिकरणका लागि, टोल विकास संस्था, महिला सहकारी र विद्यालयमा नियमित रुपमा सचेतनामुलक कार्यक्रमहरु समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*