पूर्व प्रमुखआयुक्त बिरुद्ध मुद्दा दायर हुनु नै अख्तियार निष्पक्ष छ भन्ने उदाहरण होः बागमती प्रदेश प्रमुख प्रसाई
बागमती प्रदेशका प्रमुख विष्णु प्रसाद प्रसाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापनाकाल देखि नै देशको विभिन्न सरकारी निकायहरुमा बढिरहेको भ्रष्टाचारको बेतिथीलाइ नियन्त्रण गर्न धेरै काम गर्दै आएको बताउनुभएको छ ।
आयोगको ३० औं स्थापना दिवसका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा उहाँले आयोगकै पूर्व प्रमुखआयुक्त बिरुद्ध अदालतमा मुद्दा दायरबाट नै प्रष्ट हुने उदाहरण दिनुभयो । आगामी दिनमा पनि आयोगले भ्रष्टाचार गर्ने सानो ठूलो जोकोहीलाई पनि प्रमाणको आधारमा कानूनको कठघरामा ल्याउनेमा आफु विश्वस्त रहेको उहाँको भनाई छ ।
प्रदेश प्रमुख प्रसाईले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके संघियता र समग्र शासन प्रणाली संस्थागत गर्ने कार्य एवम् “सम्बृद्ध नेपाल सुखी नेपालीको“ महाअभियान सफल बनाउने कार्यमा महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबै सरोकारवालाहरुसँग आयोगलाइ सहयोग र सहकार्यको लागि आग्रह समेत गर्नुभयो ।
उहाँले आगामी दिनमा पनि उच्च मनोबलका साथ भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न थप प्रेरणा मिलोस भनि शुभकामना समेथ दिनुभएको छ । अख्तियार दुरुपयोग अनुसंधान आयोगले ‘‘भ्रष्टाचार विरुद्धको सहकार्यः सुशासनका लागि अपरिहार्य’’ भन्ने नाराका साथ कार्यक्रम गरेको हो ।