अमेरिकाका पूर्व राष्ट्रपति ओबामाले तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म बनाउँदै
नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले फिल्म बनाउने भएका छन् । ओबामा दाम्पतीको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ ले नेटफ्लिक्ससँगको सहकार्यमा फिल्म निर्माण गर्न लागेको हो । जेनिफर पिडमले निर्देशन गर्ने फिल्मको नाम ‘तेन्जिङ’ हुनेछ ।
सन् २००३ मा इद डग्लासले लेखेको ‘तेन्जिङ हिरो अफ एभरेस्ट’ पुस्तकमा आधारित रहेर फिल्म निर्माण हुने नेटफ्लिक्सले जानकारी दिएको छ । फिल्म निर्माण भएपछि नेटफ्लिक्समा नै सार्वजनिक हुनेछ । तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई फिल्मले देखाउनेछ । फिल्मको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले बताएका छन् ।
तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो ।