बकैया गाउँपालिकालाई बालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषणा गारिंदै
बकैया गाउँपालिकालाई बालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषणा गरिँदैछ ।
आज गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी यहि माघ २९ गते एक कार्यक्रमको आयोजना गरी बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको जानकारी गराइएको हो ।
गाउँपालिका भित्रका १२ वटा वडाहरुमा बालमैत्री स्थानीय शासन प्रवर्धन कार्यान्वयन, बालमैत्री स्थानिय तह हुनको लागी तोकिएको मापदण्ड तथा संस्थागत व्यवस्थाहरु पुरा गरेकोले बालमैत्री गाउँपालिका घोषणा गर्न अनुमति पाएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो । उहाँले यो सुरुवात मात्र भएको भन्दै गाउँपालिकालाई पुर्ण बालमैत्री स्थानीय तह बनाउन रणनीतिक योजनालाइ निरन्तरता दिदै अघि बढ्ने बताउनुभयो ।
बालमैत्री गाउँपालिका घोषणाको लागि निर्धारित ३९ ओटा सूचक मध्य १९ ओटा १०० प्रतिशत र २२ ओटा सूचन ९८ प्रतिशत पुरा भएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले दाबी गर्नुभयो । उहाँले गाउँपालिका बालमैत्री स्थानीय तह घोषणा गर्न अघिल्लो वर्ष ५० लाख र यस वर्ष ८० लाख बजेट छुट्याएको जानकारी दिनुभयो ।
बालमैत्री गाउँपालिका घोषणा गर्नको लागि बालबचाउ, बाल संरक्षण, बालविकास, अर्थपूर्ण बालसहभागिता प्रवद्र्धन गरी नेपालको संविधान बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि लगायतमा जोड दिइएको छ ।
बकैया बालमैत्री स्थानीय तह घोषणा हुने मकवानपुरको दोस्रो गाउँपालिका हो । यसअघि मनहरी गाउँपालिका बालमैत्री स्थानीय तह घोषणा भैसकेको छ । जिल्ला समन्वय समिति मकवानपुरबाट अनुगमन पछी गाउँपालिका सम्पूर्ण वडामा निर्धारित सूचक तथा मापदण्ड पूरा गरेको पाइएकोले घोषणाको अनुमति दिइएको हो ।