भारतमा किसान आन्दोलनः संयमता अपनाउन दुबैलाई यूएनको आग्रह
संयुक्त राष्ट्रको मानवअधिकार संस्था यूएनले भारतमा भइरहेको किसान आन्दोलनमा प्रशासन र प्रदर्शनकारी दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ ।
यूएनले पहिलो पटक किसान आन्दोलनप्रति ध्यानाकर्षण गर्दै शान्तिपूर्ण तरिकाले मानवअधिकारको संरक्षण गदै उत्पन्न समस्याको समाधान गर्न आग्रह गरेको, उज्यालो अनलाइनले लेखेको छ । संयुक्त राष्ट्रले भारतमा पछिल्लो दुई महिनादेखि भइरहेको किसान आन्दोलनबारे प्रतिक्रिया जनाएको यो पहिलो पटक हो ।
यसअघि पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग, चर्चित पप गायिका रिहानाले पनि किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए । भारत सरकारले किसान आन्दोलनको मुद्दामा अन्तर्राष्ट्रिय हस्तीहरुको तर्फबाट गरिएको ट्वीटपछि कसैको पनि नाम नलिइकन टिप्पणी गरेको थियो ।
भारत सरकारले नयाँ तीन वटा कानुन ल्याएको र ती कानुन व्यापारीको फाइदामा रहेको भन्दै भारतका किसानहरू लामो समयदेखि आन्दोलनमा लागेका छन् ।