बागमती प्रदेश लोकसेवा आयोगमा कर्मचारी र भौतिक पूर्वाधारको अभावले समस्याः प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रमुख दिपकप्रसाद देवकोटाले कर्मचारी र भौतिक पूर्वाधारको अभावको समस्याबाट बागमती प्रदेश लोकसेवा आयोग पीडित रहेको बताउनु भएको छ ।
बागमती प्रदेश लोकसेवा आयोगको ५ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यद्यपी प्रदेश लोक सेवा आयोगको काम भने प्रशंसनीय रहेको बताउनु भयो ।
उहाँले वार्षिक पदपूर्ति कार्यतालिका, पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन जस्ता क्षेत्रहरुमा आयोगको कार्य प्रगति सराहनीय रहेको उल्लेख गर्नुभयो । आयोगको प्रभावकारी कार्यसम्पादनमा रहेका कानुनी जटिलताहरुलाई फुकाउन पनि उहाँले प्रदेश सरकारसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकसेवा आयोगको विश्वसनीयतालाई उच्च राख्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आयोग प्रति सरकारले कुनै पनि आग्रह, पूर्वाग्रह नराख्ने समेत उहाँले बताउनुभयो ।
यस्तै बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले सरकारी प्रशासन प्रति अहिलेको युवा पुस्ताको आर्कषण घट्दै गइरहेको बताउनुभयो । उहाँले मुलुकको समृद्धिमा कर्मचारीतन्त्रको महत्वपूर्ण भुमिका रहेपनि सरकारी प्रशासन प्रति आकर्षण घट्नु दुःखद भएको उल्लेख गर्नुभयो ।