पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने
पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस भोलि पूर्वी चितवनमा मनाइने भएको छ । २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । यस वर्षको पोल्ट्री दिवसमा पोल्ट्री क्षेत्रको विकाससंग सम्बन्धित गोष्ठी गरिने नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ राष्ट्रिय पोल्ट्री दिवसका संयोजक डा होमबहादुर बस्नेतले बताउनुभयो ।
पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडको रुपमा मनाउनुपर्छ भन्ने मान्यताअनुरुप नेपाल सरकार पशुसेवा विभाग पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय, पशु उत्पादन निर्देशनालय र नेपाल कुखुरा व्यवसायी मञ्चको संयुक्त आयोजनामा रत्ननगरमा समग्र पोल्ट्री क्षेत्रको विकासको लागि नीतिगत गोष्ठी आयोजना गरेर मनाउन लागिएको बस्नेतले बताउनुभयो । कार्यक्रममा पोल्ट्री व्यवसायीसँग सम्बन्धित ७०० जना सहभागी हुने आयोजकको अनुमान छ ।