उद्योगधन्दा संचालन बिना रोजगारीको अवसर सिर्जना गर्न सकिन्नः मुख्यमन्त्री लामा

छहारी संवाददाता
अशोज २, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योगधन्दा संचालन बिना रोजगारीको अवसर सिर्जना गर्न नसकिने  बताउनुभएको छ ।

बुधबार हेटौंडामा आयोजित बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले रोजगारी सिर्जना हुने ठाउँ पहिचान गर्न नसकेको बताउनुभयो ।

सरकारले निजी क्षेत्रसंग समन्वय गरी उद्योगधन्दा संचालन गर्नुपर्ने भन्दै उहाँले नजी क्षेत्रसंगको समन्वय बिना सरकारले मात्र रोजगारीको अवसर सिर्जना गर्न नसक्ने बताउनुभयो । मुख्यमन्त्री लामाले लगानीकर्ताहरुलाई निरुत्साहित गर्ने खालका ऐन कानुन भए परिमार्जन गरी हातेमालो गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य, भुमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्योगको क्षेत्रमा तीन वटै तहको सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । स्वदेशी उद्योगमा उत्पादित बस्तु उपयोग हुन नसक्दा उद्योग धरायसी हुने स्थितिमा पुगेको उहाँको भनाई छ ।
मन्त्री तामाङले सरकार र उद्योगी बीच रहेको खाँडल हटाउन प्रदेश सरकार तत्पर रहेको समेत बताउनुभयो ।

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा परिसंघका केन्द्रीय उपाध्यक्ष विरेन्द्रराज पाण्डेले औद्योगिक विकासले देशको आर्थिक अवस्था सुदृढ हुनसक्ने बताउनुभयो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले अझै पनि उद्योग मैत्री ऐन, कानुन बनाउन नसकेको गुनासो गरेको थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*