डाक्टरमाथी कुटपिटको घटनाका दोषी विरुद्ध कार्वाहीको माग गर्दै जाहेरी दर्ता(जाहेरी सहित)

कुटपिटमा संलग्न ४ जना पक्राउ, डाक्टरको लापरबाहीले राजेश प्रधानको मृत्यु भएको आफन्तको आरोप
छहारी संवाददाता
भदौ २८, २०८०

मकवानपुरका चिकित्सकहरुले हेटौंडा १ मा संचालित सञ्चो हस्पिटलमा २ जना डाक्टर माथी भएको कुटपिटको घटनाका दोषी विरुद्ध कार्वाहीको माग गर्दै जाहेरी दिएका छन् ।

बिहीबार चिकित्सक, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय र राजनितीक दलबीच भएको छलफल पछि दोषीलाई कार्वाहीको माग गर्दै उनिहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका हुन ।

हेटौंडा अस्पतालमा भएको छलफलमा नेपाल चिकित्सक संघ मकवानपुर, नेपाल औषधी व्यवसायी संघ मकवानपुर, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुर, नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुर, प्रगतीशिल जन स्वास्थ्यकर्मी महासंघ मकवानपुर, एकिकृत राष्ट्रिय स्वास्थकर्मी संघ मकवानपुर, मेडिकल ल्याबरोटरी एसोसियसन अफ नेपाल मेलान मकवानपुर, नर्सिङ संघ मकवानपुर, राष्ट्रिय प्रगतीशिल सस्वास्थ्यकर्मी संगठन मकवानपुर, नेपाल डेन्टल एसोसियसन मकवानपुर, नेपाल फिजियोथेरापि संघ बागमती प्रदेश लगायतको सहभागिता रहेको थियो ।

यता, डाक्टरमाथी भएको कुटपिटको घटनामा संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार पक्राउ गरेको छ । गत साउन २५ गते डेंगुका कारण मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले बुधबार चिकित्सकमाथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न रहेको आरोपमा मृतकका छोरा रोहित प्रधान, भतिज अनुप प्रधान, श्रीमती रमा प्रधान र छोरी रमिता प्रधानलाई पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । एक महिनाअघि डेंगुका कारण मृत्यु भएका प्रधानको उपचार क्रममा चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तको आरोप छ ।

यसैबीच, स्वास्थ्यकर्मीहरुले बिहिबार हेटौंडाको बुद्धचोकमा शान्तिपूण प्रर्दशन गरेका छन् । ज्यान जोगाउनेको ज्यान सुरक्षा गर, उपचार गर्नेले कानुनी उपचार गर्न पाएन माइलर्ड, डाक्टर भन्दा डाका प्यारो कस्तो जमाना आया बरी लै लेखेको प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् ।

यसैबीच, सन्चो अस्पताल प्रशासनले डाक्टरमाथी भएको कुटपिटको भत्सर्ना गरेको छ । प्रशासनले बिहिबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधीले स्वास्थ्य क्षेत्रमा असर गर्ने भन्दै अस्पताल जस्तो आकस्मीक र संवेदनशिल क्षेत्रमा भएको घटनाको निन्दा गरेको छ । साथै दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेको छ । प्रशासनले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

यस्तै, नेपाल चिकित्सक संघले कुटपिटको घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेको छ । संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम दोषीलाई अविलम्ब कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

यस्तै, मकवानपुर उद्योग वाणिज्य संघले डाक्टर माथी भएको आक्रमणप्रति खेद व्यक्त गरेको छ । बिहिबार एक खेदपत्र प्रकाशन गर्दै संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले घटनाप्रति उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

डाक्टर वा अस्पताल प्रशासनवाट कमी कमजोरी भए उजुरी गर्ने कानुनी प्रावधान हुँदा हुदै कानुनको वर्खीलाप हुने गरी महिना दिन अघिको घटनालाई लिएर चिकित्सकहरुमाथी कुटपिट हुनु सिंगो मकवानपुर जिल्लाको लज्जाको विषय भएको खेदपत्रमा भनिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*