स्थानीय तह निर्वाचन: बाराको चारवटा केन्द्रमा मतदान रद्द

छहारी संवाददाता
बैशाख ३०, २०७९

बारामा चार वटा केन्द्रमा मतदान रद्द भएको छ । पचरौता नगरपालिका वडा नम्बर २ र ४ को चार वटा केन्द्रमा मतदान रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नम्बर–२ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रको मतदान रद्द भएको पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिनुभयो । त्यसैगरी वडा नम्बर–४ मा रहेको बेलदारी प्रावि मतदान केन्द्र ‘क’ र ‘ख’ को मतदान रद्द भएको उहाँले बताउनुभयो । ती चार वटै केन्द्रमा मतदानको मिति चाँडै तोकिने र मतदान प्रक्रिया फेरि सुरु हुने निर्वाचन अधिकृत दाहालले जानकारी दिनुभयो ।

यी चार वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवारले मतदान अधिकृतलाई हातपात गर्दै मतदान केन्द्र नियन्त्रणमा लिएर मत खसाएपछि विवाद भएर झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन अश्रुग्यास चलाएको थियो । साभार: उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*