कांग्रेस सभापतिकाे मतदान : राति १० बजेदेखि गणना सुरु हुने, मध्यरातिसम्म नतिजा घोषणा गर्ने तयारी

छहारी संवाददाता
मंसिर २८, २०७८

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको गणना आज मङ्गलवार राति नै हुने भएको छ । अहिलेसम्म तीन हजार जनाभन्दा धेरैले मतदान गरेका छन् ।

मतदान सकिएपछि मतगणना सुरु गरेर मध्यरातिसम्म मत परिणाम सार्वजनिक गर्ने कांग्रेस चौधौँ राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डाक्टर सुरेश आचार्यले जानकारी दिनुभयो ।

कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार सात सय ४३ जना प्रतिनिधि रहेकामा हिजो साेमवार पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेकाे हाे । बाँकी तीनै जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन् ।

पहिलो चरणमा देउवाले सबैभन्दा धेरै दुई हजार दुई सय ५८ मत प्राप्त गर्नुभएको थियो । यस्तै कोइरालाले एक हजार सात सय दुई, निधिले दुई सय ४९, सिंहले तीन सय ७१ र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।

उम्मेदवारहरूको समर्थनअनुसार प्रतिनिधिहरूले मत हालेमा सभापति पदमा देउवाको जित निश्चित जस्तै छ ।

यसैबीच सभापतिबाहेकका अरू पदको मतगणना भने पर्सि बिहीवारदेखि मात्र सुरु गर्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । अरू पदमा भने उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत ल्याउनैपर्ने बाध्यता छैन । बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छन् । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*