कांग्रेसको बागमती प्रदेश सभापतिमा बानियाँलाई प्रधानको समर्थन प्राप्त

छहारी संवाददाता
मंसिर १९, २०७८

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बहादुर बानियाँलाई भीमसेनदास प्रधानको समर्थन प्राप्त भएको छ ।

पहिलो चरणमा तेस्रो बढी मत ल्याएका प्रधानले दोस्रो चरणको मतदानमा बानियाँलाई समर्थन गर्ने निर्णय गर्नु भएको हो । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले सबैभन्दा बढी मत ल्याएका बानियाँलाई सहमतिमै नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो ।

पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणमा मतदान हुँदैछ । पहिलो चरणमा सभापति पदमा इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र प्रधान उम्मेदवार हुनुहुन्थ्यो ।

संस्थापन समूहका नेता एवं सहमहामन्त्री डा। प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु अम्बिका बस्नेत, डिना उपाध्याय, सभापतिका उम्मेदवार बानियाँसहितको पत्रकार सम्मेलनमा प्रधानले भने, ‘मतदान गर्ने अवस्था आयो भने पनि मत पाउने अधिकार बानियाँजीलाई नै छ, किनकि उहाँले सबैभन्दा बढी मत ल्याउनुभएको हो ।’

साथै प्रधानले सभापतिमा बानियाँलाई मतदान गर्न आफ्ना समर्थकलाई आग्रह समेत गर्नुभयो । आइतबार बिहान सार्वजनिक मत परिणाममा बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याउनु भएको थियो भने सभापतिका अर्का उम्मेदवार केसीले ८७२ मत र प्रधानले १९७ मत प्राप्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*