एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिवमा शंकर र उपमहासचिवहरू निर्विरोध

छहारी संवाददाता
मंसिर १३, २०७८

नेकपा एमाले जारी १० औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध चयन हुने भएका छन् । साथै उपमहासचिव पदका लागि प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध हुनेछन् ।

उल्लिखित पदमा उनीहरुविरूद्ध निर्धारित समय अरु कसैले उम्मेदवारी नदिएपछि निर्विरोध चयन हुने भएका हुन् । आइतबार राति नै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि उनीहरूको नाम बन्दसत्रमा पेस गरेका थिए । तर उनीहरुलाइ टक्कर दिने अरु ननिस्किएपछि निर्विरोध हुने भएका हुन् ।

तर यी ५ पदबाहेक अन्य पदाधिकारीमा भने चुनाव हुने भएको छ । केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने प्रयास फेल भएपछि अध्यक्ष पदका लागि ओली र भीम रावलको उम्मेदवारी दर्ता भएको छ ।

सर्वसम्मत हुन नसकेपछि उपाध्यक्ष पदमा पनि चुनाव हुने भएकाे छ । अध्यक्ष ओलीले विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । तर उनीहरूविरूद्ध  घनश्याम भुसालले उक्त पदमा दाबी गर्दै उम्मेदवारी दिएका छन् ।

यस्तै सचिवमा पनि भीम आचार्य र टंक आचार्यले उम्मेदवारी दिएका छन् । उक्त पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालकाे नाम सर्वसम्मत चयन हुन नसकेपछि चुनाव हुने भएकाे हाे । साभारः न्युज २४ अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*