अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्ने : प्रचण्ड

छहारी संवाददाता
कार्तिक १३, २०७८

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताउनु भएको छ ।

अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको पनि स्पष्ट पार्नु भयो । शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताउनु भयो ।

अध्यक्ष दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दावीसमेत गर्नु भयो । ‘गठबन्धन ठिक ढंगले अगाडि बढ्दैछ । तपाईंहरुले पनि देखि राख्नु भएको छ । अब सरकारले पूर्णता पाइसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ’ उहाँले भन्नुभयो, ‘काठमाण्डौमा अहिले नेताहरु कोही कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १/२ दिन ढिला भएको छ । बैठक बस्ने बित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ ।’

अध्यक्ष दाहालले ‘अर्ली इलेक्सन’ हुने कुनै पनि सम्भावना नरहेको पनि बताउनु भयो । हाम्रो संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि देश ‘अर्ली इलेक्सन’मा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क थियो ।

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिनु भयो । उहाँले अध्यादेश ल्याएर भए पनि नागरिकता विधेयक अगाडि बढाउन आफूहरु तयार रहेको बताउनुभयो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*