कलैयाको मदिलवा गाउँमा तिन दिने चालिसाहा दाहा मेला सुरु(तस्विरहरु)
बाराको कलैया उपमहानगरपालिका २१ र २२ मा पर्ने मदिलवा गाउँमा सोमबारदेखि चालिसाहा दाहा मेला सुरु भएको छ । मेलाको उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले एक भव्य कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो ।
मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी यादवले चालिसाहा दाहा मेलाले समाजमा धार्मिक सहिष्णुता, सामाजिक भाइचार कायम राख्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता मेला र कार्यक्रमले धार्मिक र आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउँदै उहाँले मेला सफल पार्न उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले तिन दिनसम्म चल्ने मेलामा आफ्नो भौतिक उपस्थिती रहने समेत बताउनुभयो ।
यस्तै कार्यक्रममा मेला आयोजना गरिएको वडा नम्बर २२ का अध्यक्ष लालबाबु प्रसाद यादवले मेला घुम्न आउनेहरुको सुरक्षामा वडावासीको विषेश भूमिका हुने भन्दै सबैलाई संयमित भएर मेलाको अवलोकन गर्न आग्रह गर्नु भएको छ ।
यस्तै वडा नम्बर २१ का अध्यक्ष पुनदेव प्रसाद रौनियारले चालिसाहा दाहा मेलाले सबै धर्मको प्रतिनिधित्व गर्ने भन्दै मेलाको सफलताको शुभकामना दिनुभयो । मेलाले धार्मिक सद्भाव, सामाजिक र आर्थिक विकासमा जोड दिने भन्दै ऐतिहासिक र सांस्कृतिक संस्कारको जगेर्ना गर्ने बताउनुभयो ।
यस्तै नेकपा एकिकृत समाजवादीका बारा जिल्ला समिती सदस्य विरेन्द्र प्रसाद यादवले यस मेला आयोजनाले समाजमा एकता र सद्भाव कायम गर्ने भन्दै मेला सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा नेकपा एमालेका वडा कमिटी सदस्य मधुसुधन वाग्लेले पुरानो संस्कार र संस्कृतीलाई समेट्दै अघि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा भुतपूर्व भोडाह गाविसका अध्यक्ष शंकर प्रसाद यादव, शिव बिहारी चौधरी, भुतपूर्व गाविस उपाध्यक्ष सिताराम शाह, साविक वडा नम्बर ९ का भुतपुर्व वडा अध्यक्ष शिउचन्द्र कामी, वडा नम्बर ३ का भुतपुर्व वडा अध्यक्ष गणेश प्रसाद यादव, समाजसेवी सियाराम यादव, क्युपेक नेपाल बाराका धानेश्वर कुशवाह, मेला आयोजक समितीका सचिव मनिफ मिया अन्सारी, सदस्य सविर आलम लगायतको आतिथ्यता रहेको थियो ।
चालिसाहा दाहा मेला आयोजक समितीका अध्यक्ष ठगा गिरीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर २१ का वडा समिती अध्यक्ष राजेन्द्र चौधरीले कार्यक्रम संचालन गर्नु भएको थियो ।
मेलामा मुख्य आकर्षणको रुपमा ७२ फिटको दाहा निमार्ण गरिएको छ ।