कोरोना विरुद्धको खोप चाँडो उपलव्ध गराउन माग

छहारी संवाददाता
असार २४, २०७८

कोभिड–१९ (कोरोना भाईरस)बाट जनधनको क्षति कम गर्न सवै नेपालीलाई सक्दो चाँडो खोप उपलव्ध गराउन एक कार्यक्रमका सहभागीले माग गरेका छन् ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत फ्रण्डलाईनरसँगै उच्च जोखिममा रहेको गैरसरकारीसंस्थाकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउँन पनि आग्रह गरिएको थियो । कोरोनाको तेस्रो भेरियण्टको त्रास रहेकाले उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्य सेवा सहज बनाउनुपर्ने भन्दै कारागार(जेल)मा रहेका कैदीपनि मानव र नेपाली भएकाले खोपको व्यवस्था गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

पारस्परिक जवाफदेहिताका लागि स्वास्थ्य (कोभिड–१९)सम्बन्धि बिहीबार आयोजित भर्चुअल साझा सभा कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । अमेरिकी सहयोग नियोग यूएसएडको आर्थिक सहयोग, डेक नेपालको संयोजन तथा नागरिक समाज मञ्च मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय उलंघन गर्दा जनस्वास्थ्यमा असर पार्ने भएकाले निर्णयलाई सबै नागरिकले कर्तव्य सम्झेर कार्यान्वयन गर्नुपर्ने बताए ।

माग अनुसार खोप सहज रुपमा उपलब्ध गराउन आफुले पहल गर्ने बताउँदै उनले सार्वजनिक यातायात संचालन लगायतका विषयमा पनि छलफल भईरहेको बताए । नागरिक समाज मञ्च मकवानपुरकी संयोजक रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महिलाअधिकारकर्मी आरती पाठकले सहजिकरण गरेकी थिईन् ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसार्इं, हेटौंडा अस्पतालका आईसोलेशन ईन्चार्ज डा. सागर काफ्ले र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले स्वास्थ्य सेवा र कोभिड १९ बारे प्रस्तुतिकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*