निषेधाज्ञा अझै १० दिन लम्ब्याउने मकवानपुर प्रशासनको निर्णय

छहारी संवाददाता
असार २०, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा जारी निषेधाज्ञा थप १० दिन थप्ने निर्णय गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रको बैठकले असार २१ गते सोमबार राति १२ बजेदेखि असार ३१ गते बिहिबार राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञाको समया थप गरेको हो । बैठकले संक्रमितको दर घट्दै गएपनि जोखिम यथावत रहेको भन्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

बैठकले अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्रीवितरण गर्ने व्यवसायहरु बिहान ४ बजेदेखि बिहान १० बजेसम्म खोल्ने दिने निर्णय गरेको छ ।

यस्तै पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

प्रेस तथा फोटोकपी पसलहरू र फोटो स्टुडियोहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट होम डेलिभरी गर्ने गरी मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न दिने निर्ण भएको छ ।

त्यस्तै निजी यात्रुबाहक सवारी साधनहरू मोटरसाइकल, मयुरी, अटो, ट्याम्पोमा जोर–बिजोर प्रणालीका आधारमा दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी सञ्चालन गर्न पाइने भने लामो दुरीका सवारीसाधन, मालबहाक सवारीसाधन तथा निर्माण सामग्री ढुवानी गर्ने साधनहरु जिल्लामा नरोकिने गरी आवतजावत गर्न दिने निर्ण भएको छ ।

बैठकले पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम गराई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र भिडभाड नहुने गरी सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*