कोरोना संक्रमणदर घटेसँगै धेरैजसो अस्पतालका शय्या खाली हुँदै
कोरोना संक्रमणदर घटेसँगै धेरैजसो अस्पतालका शय्याहरु खाली हुन थालेका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँका अस्पतालमा बिरामीको चाप बिस्तारै घट्दै गएको छ । अस्पतालमा गम्भीर खालका बिरामीको संख्या घट्दै गए पनि जोखिम भने नटरेको विज्ञले बताउँदै आएका छन् ।
कोरोना संक्रमितको सङ्ख्या घट्दै गएसँगै शय्या पनि खाल हुन थालेका उपचारमा सहज हुने अस्पतालहरुले जनाएका छन् । यस्तै, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका जिल्लाका बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा पनि चाप घटेको छ । त्यहाँ रहेका दुई सय शय्यामध्ये ४४ शय्या खाली भएको छ ।
अहिले भेरी अस्पतालमा १४१ बिरामी रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । यस्तै कोहलपुरमा रहेको शिक्षण अस्पतालमा रहेका १ सय ३० शय्यामध्ये ५२ शय्या खाली भएका छन्।
७८ बिरामी भर्ना भएकामा ७० बिरामीको अवस्था गम्भीर रहेको छ । यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकल शय्यामध्ये १३ शय्या र युनाइटेड अस्पतालका १५ शय्यामध्ये १० शय्या खाली भएका छन् । बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो
साभारः उज्यालो अनलाइन ।