एमालेको नेपाल पक्षले ओलीले पार्टीमा एकलौटी गरेको हेरफेर नमान्य

छहारी संवाददाता
फाल्गुन २८, २०७७

नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको हेरफेर मान्य नहुने बताएको छ ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको शुक्रबार साँझ बसेको बैठकले ओलीले गरेको हेरफेर अस्वीकार गर्ने निर्णय गरेको हो। शुक्रबार दिउँसो आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर ओलीले आफू अल्पमतमा भएको २३ सदस्यीय स्थायी समिति खारेज गर्नुका साथै नेपाल पक्षका नेताहरुले पाएको थप जिम्मेवारी पनि खोस्नु भएको देशसञ्चारले लेखेको छ ।

स्थायी समितिमा नेपाल पक्षमा १३ र ओली पक्षमा ९ जना पदाधिकारी छन्। ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोस्नु भएको छ भने माओवादी पक्षबाट आएका २३ केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गर्नु भएको छ ।

केन्द्रीय कमिटी बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर डा राजन भट्टराईलाई जिम्मेवारी दिएको छ। बैठकले प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमति प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णालीमा एमलाल कँडेल र सुदूरपश्चिममा भीमरावललाई हटाएर लेखराज भट्ट इन्चार्ज तोकेको छ।

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल भने यथावत रहेका छन्।ओली पक्षीय केन्द्रीय कमिटि बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ। पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैले राखेका छन्। त्यस्तै प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीबाट योगेश भट्टराईलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*